राष्ट्रिय युवा संघको पाँचौं महाधिवेशनबाट क्षितिज थेबेको प्यानलै १८८ मतान्तरले विजयी

काठमाडौं । नेकपा एमाले निकट राष्ट्रिय युवा संघको पाँचौं महाधिवेशनबाट क्षितिज थेबेको प्यानलै विजयी भएको छ । भर्खरै प्राप्त मत परिणाम अनुसार थेवे १८८ मतान्तरले विजयी भएका हुन् ।
थेबेले ७९७ ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी सुमन पुरीले ६०८ मत ल्याएका छन् । यस्तै युवासंघको महासचिवमा ७५५ मत ल्याउँदै महेश चौलागाईं विजयी भएका छन् । उनका प्रतिस्पर्धीले ६४९ मत ल्याएका छन् । १ हजार ७६४ मतदाता प्रतिनिधि रहेकोमा १ हजार ४०४ मत खसेको थियो ।
क्षितिजकै नेतृत्वमा सर्वसम्मत गर्न नेताहरूले कसरत गरेको भए पनि सुमनले अस्वीकार गरेर मतदान मार्फत नै नेतृत्व चुनिनुपर्ने अडान लिएपछि चुनावी प्रक्रिया अगाडि बढाइएको थियो । महाधिवेशनमा पदाधिकारी र सदस्यमा समेत गरेर ३९९ जनाको उम्मेदवारी परेको थियो । पदाधिकारी ९ जना सहित १५१ जनाको केन्द्रीय समिति, ४ वटा विभागमा अध्यक्ष, उपाध्यक्ष र सचिव गरेर १६३ पदमा निर्वाचित भएका छन् ।
