11:25PM
फागुन २७ गते २०८१

‘प्रचण्ड’ले पूर्व राजा ज्ञानेन्द्र शाहलाई पार्टी खोल्न सुझाव

फागुन २४ गते २०८१
7:01 PM
Author Avatar
आर्थिक मञ्च

काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्व राजा ज्ञानेन्द्र शाहलाई पार्टी खोल्न सुझाव दिनुभएको छ । शाहका समर्थकहरुले भोलि काठमाण्डौमा गर्न लागेको कार्यक्रमलाई लक्षित गरेर कार्यक्रम गर्ने तयारी गरेपछि ज्ञानेन्द्र शाहका विरुद्धका दलहरुबाट कडा टिप्पणी र सुझाव आइरहेका बेला माओवादी अध्यक्ष ‘प्रचण्ड’ को पनि यस्तो सुझाव आएको हो । तराई मधेश जागरण अभियानमा रहेका अध्यक्ष ‘प्रचण्ड’ ले दैनिकजसो शाहका बारेमा बोलिरहनुभएको छ ।

यसअघि बुधवार प्रधानमन्त्री केपी शर्मा ओलीले पनि शाहलाई चुनाव लड्न सुझाव दिनुभएको थियो । आज डोटीमा भएको कार्यक्रममा गृहमन्त्री रमेश लेखकले राजतन्त्र फर्कने हल्ला काम नलाग्ने बताउनुभयो । यस्तै हिजो सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि पूर्व राजा ज्ञानेन्द्र शाहको सम्पत्ति जफथ गरेर जेलमा राख्नुपर्नेमा स–सम्मान राखेको टिप्पणी गर्नुभएको थियो ।

राजसंस्थाको पुनस्र्थापना, प्रदेश संरचना खारेजी, सनातन हिन्दू राज्य स्थापनासहितका पक्षमा बुधवार काठमाण्डौमा र्याली निकालेको राष्ट्रिय प्रजातन्त्र पार्टीले भोलि विमानस्थलमा ज्ञानेन्द्र शाहको स्वागत कार्यक्रममा पनि अगुवाई गर्दैछ ।

यस अघि फागुन ७ गते प्रजातन्त्र दिवसका दिन पूर्व राजा शाहले जारी गरेको भिडियो सन्देशमा देश जोगाउने हो भने आफूलाई साथ दिन आह्वान गरेपछि राजावादीको उत्साह र अरु दलहरुको छटपटी दुवै बढेको हो । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन राजसंस्थाको पुनस्र्थापनाकै लागि प्रयास रहेको बताउनुहुन्छ । तर राजनीतिक विश्लेषकहरु भने नेपालमा अब राजतन्त्र पुनर्स्थापना हुने कुरा असान्दर्भिक भइसकेको दाबी गर्छन् ।

एकथरीले नागरिकहरुलाई भ्रमित बनाइराख्न यस्तो हल्ला चलाउने गरेको र दलहरु पनि उही शैलीमा प्रतिवाद गरिरहेको पाइन्छ । राजनीतिक विश्लेषक डब्बर खतिवडाले फेसबुकमा लेख्दै नयाँ–वैकल्पिक राजनीतिको गफले अलिकति चर्चा र लोकप्रियता पाउने वित्तिकै कथित अभियन्ताले राजतन्त्रको हल्ला बढाएको उल्लेख गर्नुभएको छ ।

रिप्लाई गर्नुहोस