10:35PM
चैत्र १३ गते २०८१

वीरका बिरामीको खाना र अक्सिजनको बजेट कटौती नगर्न सर्वोच्चको आदेश

माघ ७ गते २०८०
10:53 AM
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । सर्वोच्च अदालतले स्वास्थ्य मन्त्रालयबाट वीर अस्पताललाई प्रदान गर्दै आइरहेको बिरामीको खाना र अक्सिजनको बजेट कटौती नगर्न अन्तरिम आदेश जारी गरेको छ । शुक्रबार न्यायाधीशद्वय हरि फुँयाल र बालकृष्ण ढकालको संयुक्त इजलासले अर्थ मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नाममा आदेश जारी गरेको हो ।

अस्पताललाई अत्यावश्यक हुने शीर्षकको बजेट कटौती गरेपछि २६ पुसमा सोविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता भएको थियो । सर्वोच्चले शुक्रबार रिटको सुनुवाइ गर्दै स्वास्थ्य जनताको संवेदनशील विषय भएको हुनाले बजेट नरोक्न आदेश जारी गरेको छ । अधिवक्ता विमल पोखरेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, अर्थ मन्त्रालय, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान र वीर अस्पतालविरुद्ध रिट हालेका थिए ।रिट दर्ता भएलगत्तै २८ पुसमा न्यायाधीश बालकृष्ण ढकालको इजलासले दुवै पक्षलाई शुक्रबार बोलाएको थियो । रिटमा स्वास्थ्य मन्त्रालय, अर्थ मन्त्रालय र वीर अस्पताललाई विपक्षी बनाइएको थियो । ९ पुसको नयाँ पत्रिका दैनिकमा ‘स्वास्थ्य मन्त्रालयले खोस्यो वीरका बिरामीले १३३ वर्षदेखि पाइरहेको खाना–खाजा’ शीर्षकको समाचार प्रकाशन भएको थियो  । चालू आर्थिक वर्ष ०८०र८१ मा सरकारले वीर अस्पतालमा भर्ना भएका बिरामीले पाउँदै आएको खाजा–खाना सुविधा मात्रै होइन, अत्यावश्यक अक्सिजनसमेत खोस्ने गरी बजेट कटौती गरेको छ  । माथिल्लो निकायले बजेट नदिएपछि वीर अस्पतालले बिरामीलाई वर्षौँदेखि दिँदै आइरहेको खाना कटौती गर्ने तयारीसमेत गरेको छ । तर, अत्यावश्यक शीर्षकको बजेट कटौती भएपछि विरोध भइरहेको छ । संसद्को सुशासन समितिमा पनि यसको विरोध भएको थियो ।अस्पताल प्रशासनका अनुसार दैनिक औसत पाँच सय बिरामीलाई खाजा–खाना खुवाउँदा मासिक १४ लाख रुपैयाँहाराहारी खर्च हुन्छ । वार्षिक करिब एक करोड ६८ लाख त्यसमा खर्च हुन्छ । वीरमा भर्ना भएका बिरामीलाई ब्रेकफास्ट बिस्कुट र दूध, बिहानको खाना दाल, भात, तरकारी र कुखुराको मासु, दिउँसो खाजा चना, अन्डा र दूध र बेलुकीको खाना दाल, भात, तरकारी र रोटी खुवाउने गरिएको छ । सरकारले आव ०८०र८१ मा वीरलाई ७३ करोड एक लाख रुपैयाँ मात्रै विनियोजन गरेको छ । यो आवमा रासन तथा अक्सिजन ग्यासका लागि कुनै पनि रकम विनियोजन गरिएको छैन  ।चार सय ६० बेड सञ्चालन गर्दा एक अर्ब ९७ करोडभन्दा बढी रकम विनियोजन गरिएको अवस्थामा बेड संख्या बढाएर नौ सय ६० पुर्‍याइएको छ । तर, बजेट घटाएर ७३ करोड बनाइएको छ । हाल अस्पतालको मासिक आम्दानी र खर्च बराबरी छ । मासिक तीन करोड आम्दानी हुन्छ भने खर्च पनि सोहीबराबर रहेको अस्पतालले जनाएको छ । अझ केन्द्रले दरबन्दी मिलान नगरेपछि आन्तरिक आम्दानीबाट तलब खुवाउने गरी स्वास्थ्यकर्मी तथा कर्मचारी थपिँदै आएका छन् ।स्वास्थ्य मन्त्रालयले खोसेको थियो सुविधावीर अस्पतालले स्थापनाकाल अर्थात् विक्रम संवत् १९४७ देखि नै बिरामीलाई खाना–खाजाको सुविधा दिँदै आएको छ । नौ सय बेडको वीरमा औसत दैनिक पाँच सय बिरामीलाई खुवाइन्छ । अस्पताल प्रशासनका अनुसार खाजा–खानामा मासिक १४ लाख रुपैयाँ हाराहारी र वार्षिक करिब एक करोड ६८ लाख खर्च हुन्छ । तर, चालू आर्थिक वर्षदेखि बजेटको अभाव देखाउँदै स्वास्थ्य मन्त्रालयले यो शीर्षक नै कटौती गरेको छ ।

रिप्लाई गर्नुहोस