एभरेस्ट बैंकको नाफा घट्यो
एभरेस्ट बैंकको नाफा पहिलो त्रैमासमा ९.४ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ७८ करोड ७ लाख रुपैयाँ बराबर खुद नाफा कमाएको छ ।
गत वर्षको यस अवधिमा ८६ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी बढ्दा पनि इम्पेरिमेन्ट चार्ज बढेकाले नाफामा संकुचन देखिएको हो । बैंकले यो वर्षको पहिलो त्रैमासमा १ अर्ब ८९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।
बैंकको इम्मेरिमेन्ट चार्ज भने यो अवधिमा १२ करोडबाट बढेर ४२ करोड ९५ लाख रुपैयाँ पुगेको छ । जसले बैंकको नाफालाई सिधा असर गरेको छ । बैंकको प्रतिसेयर आम्दानी २९ रुपैयाँ १९ पैसा कायम भएको छ ।
कुल कर्जामा बैंकको निश्क्रिय कर्जा पनि बढेको छ । यसअघि ०.३३ प्रतिशत रहेको यस्तो कर्जा अहिले ०.९० प्रतिशत पुगेको छ । बैंकको औसत ब्याज अन्तर स्प्रेड दर ४ प्रतिशत छ । बैंकको आधार दर ९. ३ प्रतिशतबाट बढेर ९.७ प्रतिशत पुगेको छ ।
बैंकको रिटर्न अन इक्वीटी आरओई १२ प्रतिशतमा खुम्चिएको छ । गत वर्षको पहिलो त्रैमासमा आरओई १४.७ प्रतिशत थियो । हाल बैंकको सेयर मूल्य प्रतिकित्ता ४६२ रुपैयाँ छ । बैंकको जगेडा कोषमा १० अर्ब ४६ करोड रुपैयाँ बराबर छ ।