युनिभर्सल मेडिकल कलेजमा १५औं दिनदेखि अनशन
भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्स युसिएमएस एण्ड टिचिङ हस्पिटल भैरहवामा विद्यार्थी अनशन बसेको आज १५ दिन भएको छ ।
विद्यार्थी आन्दोलनले अस्पतालमा पठनपाठन र उपचार सेवा पूर्णरुपमा बन्द भएको छ । कलेज प्रशासनले आन्दोलनरत विद्यार्थीका सबै माग सम्बोधन गर्न तयार रहेपनि प्रिन्सिपलको राजीनामाको विषयले सहमति जुट्न सकेको छैन ।
विद्यार्थीहरुले प्रिन्सिपल प्रा.डा लक्ष्मी पाठकको राजीनामालाई पहिलो सर्त बनाएपछि सहमति जुट्न नसेकेको मेडिकल कलेजका जनसम्पर्क अधिकृत सुशील गुरुङले बताए ।
आवासीय चिकित्सकहरुले समेत विद्यार्थीको आन्दोलनमा समर्थन जनाउँदै बिरामीको उपचारनगर्दा बिरामीहरु उपचार सेवाबाट बञ्चित भएका छन् ।
विद्यार्थीहरूले उक्त ड्रेसकोड मान्य नहुने भन्दै विरोध जनाएका थिए । पाठकले सबै विद्यार्थीहरूका लागि पाइन्ट र सर्टको व्यवस्था गरेकी थिइन् । तर, महिला विद्यार्थीहरूले लामो समयसम्म पाइन्ट र सर्ट लगाएर इन्टर्न गर्न नसकिने भन्दै विरोध जनाएका थिए ।
विद्यार्थीहरूले प्रिन्सिपलले राजीनामा दिनुपर्ने, नयाँ ड्रेसकोड लागू नगरी पहिलेको यथावत राख्नुपर्ने, इन्टर्नसीपको पारिश्रमिक बढाउनुपर्ने, परीक्षा दिन प्रतिबन्ध लगाएका विद्यार्थीहरूको प्रतिबन्ध फुकुवा गर्नुपर्ने लगायतका माग गर्दै विद्यार्थी आन्दोलनरत छन् ।
तर पछिल्लो समय प्रिन्सिपलको राजीनामालाई बटमलाइन बनाएका छन् । एमबीबीएस र बीडीएस अन्ययनरत करिब ६०० विद्यार्थीको आन्दोलनमा आवासीय चिकित्सकले समेत समर्थन जनाएका हुन् ।