एसईईको नतिजा आज सार्वजनिक गरिँदै

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा आज सार्वजनिक गर्ने भएको छ । बोर्डले नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुर्याएको र आज साँझसम्म नतिजा सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ ।
एसईईको नतिजा आज साँझसम्ममा सार्वजनिक गर्ने अन्तिम तयारीमा पुगेका जनाइएको छ । प्राविधिक समस्या नआए आजै नतिजा सार्वजनिक हुन्छ । प्राविधिक समस्या आए मात्रै भोलि पुग्ने हो ।
बोर्डले अन्तिम पटक २०७२ सालको पद्धतिअनुसार नतिजा प्रकाशित गर्ने निर्णय गरिसकेको छ । विसं २०७२ को प्रणालीअनुसार सैद्धान्तिक र प्रयोगात्मकको जोडेर ३५ प्रतिशत अङ्क ल्याए पनि विद्यार्थी उत्तीर्ण हुने व्यवस्था छ । नयाँ पद्धतिअनुसार सबै विषयमा ३५ प्रतिशतभन्दा कम अङ्क ल्याउनेलाई नन ग्रेडेडमा राख्ने व्यवस्था छ । यो व्यवस्था आगामी वर्षदेखि लागू हुने भएको छ ।
गत चैत १७ गतेदेखि २९ गतेसम्म देशभरका दुई हजार ३७ परीक्षा केन्द्रमा सञ्चालित परीक्षामा देशभरका सामुदायिक र निजीका गरी १२ हजार ८३ विद्यालयका कूल चार लाख ८५ हजार तीन सय ९६ विद्यार्थीको सहभागिता रहेको थियो । परीक्षामा दुई लाख ४२ हजार सात सय १२ जना छात्रा र दुई लाख ४२ हजार छ सय ७४ जना छात्रले परीक्षा दिएका छन् । प्राविधिक धारतर्फका १५ हजार चार सय ६१ जना परीक्षार्थीसमेत एसइईमा सहभागी थिए ।
परीक्षाको नतिजा हेर्नका लागि १६०० मा डायल गरी प्राप्त निर्देशनअनुसार नतिजा जान्न सकिने व्यवस्था गरेको छ । परीक्षा नियन्त्रण कार्यालय र नेपाल टेलिकमको वेबसाइटमा नतिजा हेर्न सक्ने व्यबस्था गरेको जनाइएको छ ।
एसएमएसका लागि १६००, ३१००३, ३४९४९, ३५००१ र ३१०६४ मा डायल गर्न सक्ने व्यवस्था गरेको छ । नतिजाका हेर्नका लागि राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको कक्षा १० को परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरको बेवसाइट www.see.gov.np मा हेर्न सकिने बोर्डले जनाएको छ ।