युनिलिभरको सेयर मूल्य अहिलेसम्मकै उच्च

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा युनिलिभर नेपालको सेयर मूल्यले नयाँ रेकर्ड बनाएको छ । सोमबार प्रतिकित्ता ३४ हजार ३९९ रुपैयाँमा बन्द भएको कम्पनीको सेयरमूल्य मंगलबार बढेर ३७ हजार ८३८ सम्म पुगेको थियो । जुन नेप्सेमा सूचीकृत मध्ये अहिलेसम्मको उच्च मूल्य हो । यसअघि २०७३ मा कम्पनीको सेयरमूल्य ३६ हजार रुपैयाँ पुगेर बन्द भएको थियो ।
त्यसपछि घटेको कम्पनीको सेयरमूल्य कोभिड-१९ पछि नेप्से ३२०० अंकको विन्दुमा पुग्दा पनि खासै बढ्न सकेको थिएन । ७ जेठमा २४ हजार ९५० मा बन्द भएको कम्पनीको सेयरमूल्य त्यसयता लगातार बढेर ३० जेठमा अहिलेसम्मकै उच्च विन्दुमा पुगेको हो ।
