07:06AM
वैशाख १५ गते २०८२

पहिलो ओडीआई खेल मूलपानी मैदानमा हुने

वैशाख १५ गते २०८०
9:30 AM
Author Avatar
आर्थिक मञ्च

एसीसी प्रिमियर कपअन्तर्गत शनिबार दुई सेमिफाइनल खेल हुँदा नेपालको अर्को एउटा मैदानले एकदिवसीय अन्तर्राष्ट्रिय ओडीआई खेलको आतिथ्य गर्ने भएको छ । नेपालमा त्रिवि मैदान कीर्तिपुरमा मात्र एकदिवसीय अन्तर्राष्ट्रिय खेल आयोजना गरिँदै आएको छ ।

प्रिमियर कपको फाइनल प्रवेशका लागि शनिबार एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त टिमहरु यूएई र ओमान मूलपानी माथिल्लो मैदानमा खेल्दैछन् । दुई ओडीआई टिमले मूलपानीमा पहिलोपल्ट खेल्न लागेका हुन् ।

१० टिम सम्मिलित यो प्रतियोगितामा यूएई, ओमान र नेपाल गरी तीन टिमसँग ओडीआई मान्यता छ ।

घरेलु टिम नेपालले त्रिवि मैदानमा कुवेतसँग अर्को सेमिफाइनल खेल्नेछ । जारी एसीसी प्रिमियर कपको प्रतियोगिता निर्देशकसमेत रहेका नेपाल क्रिकेट संघ क्यानका क्रिकेट म्यानेजर विनोद दासले दुई ओडीआई मान्यताप्राप्त टिमबीच खेल हुनेभएपछि यसले ओडीआई मान्यता पाउने जानकारी दिए ।

ओमान समूह ए को उपविजेता र यूएई समूह बीको विजेताका रुपमा सेमिफाइनलमा भेट पक्का गरेका हुन् ।

समूह ए को विजेता बनेको नेपाल र समूह बीमा निर्णायक खेलमा हङकङलाई पराजित गरी उपविजेता बनेको कुवेतबीच फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुन लागेको छ ।

सेमिफाइनलमा पराजित हुने दुई टिमले तेस्रो स्थानका लागि आइतबार त्रिवि मैदानमा खेल्नेछ । फाइनल खेल १८ बैशाख सोमबार हुनेछ ।

यो प्रतियोगिताको विजेताले सेप्टेम्बरमा पाकिस्तानरयूएईमा हुने एसिया कपमा भारत र पाकिस्तानको समूहमा रहेर खेल्नेछ ।

रिप्लाई गर्नुहोस