02:32PM
असार २ गते २०८१

पाखो जमिनमा गरिएको अम्रिसो खेती आयआर्जनको माध्यम

फागुन ९ गते २०७९
8:29 AM
Author Avatar
आर्थिक मञ्च

म्याग्दीका ग्रामीण भेगका किसानलाई भिरालो जमिन, पाखो र खेतबारीका डिलमा लगाइने अम्रिसो आम्दानीको बलियो स्रोत बनेको छ । पछिल्लो समय अम्रिसोको मूल्य वृद्धि हुँदै गएपछि यहाँका किसान उत्साही भएका छन् । दुई वर्षअघि प्रतिकिलो रु ४० का दरले मुस्किलले बिक्री हुने गरेको अम्रिसो अहिले प्रतिकेजी रु एक सय २५ मा बिक्री हुन थालेपछि यहाँका किसान उत्साहित भएका हुन् ।

मूल्यमा उतारचढाव आइरहे पनि यो वर्ष प्रतिकिलो रु एक सयदेखि रु एक सय २५ सम्म किसानबाट व्यवसायीले खरिद गरिरहेका छन् । अम्रिसोको व्यापार गर्दै आउनुभएका यामबहादुर  सापकोटाले प्रतिकिलो रु एक सय २५ सम्म लगाएर सात क्विन्टल अम्रिसो जम्मा गर्नुभएको छ । उहाँ बेनी, बागलुङ र पोखरासम्म पुर्‍याएर अम्रिसो बेच्ने गर्नुहुन्छ ।  यस वर्ष अम्रिसोको मूल्य केही बढ्नसक्ने अनुमान गरेको सापकोटा बताउनुहुन्छ  । अम्रिसो पोखरासम्म पुर्‍याउँदा गत वर्ष रु एक सय ४० मा बिक्री गर्नुभएका उहाँले यस वर्ष भने रु एक सय ६० सम्ममा बिक्री हुने अनुमान गर्नुभएको छ  । 

पछिल्लो समय भारतबाट अम्रिसोको माग बढेर आएपछि मूल्य बढेको व्यवसायीहरूको भनाइ छ । कुनै समय बिक्रीका लागि नभई घाँस र कुचोका लागि अम्रिसो रोप्ने पहाडी क्षेत्रका किसानले बजार र मूल्य पाउन थालेपछि व्यावसायिकरूपमै खेती गर्न थालेका छन् । अम्रिसोको डाँठलाई दाउराका रूपमा र पातलाई घाँसका रूपमा प्रयोग गर्ने किसानले फुलेको भागलाई निकालेर कुचोका रूपमा बिक्री गर्दै आएका छन् । बहुउपयोगी अम्रिसोले राम्रो मूल्य पाउन थालेकाले पहाडी भेगका किसानमा उत्साह छ । अन्नबालीका लागि उपयोग हुन नसक्ने भिरालो पाखा जमिनमा समेत अम्रिसो खेती गर्न सकिन्छ । हिउँदका समयमा अन्य घाँसपात नहुँदा अम्रिसोको पात गाईवस्तुका लागि निकै उपयोगी हुन्छ । ग्रामीण भेगसम्म यातायातको पहुँच पुगेपछि यसको व्यावसायिक खेती बढेको हो ।

गुणस्तरीय जीवन विषयमा विधावारिधि गर्नुभएका डा माधवप्रसाद तिवारीका अनुसार अम्रिसोको स्थानीय नाम अम्रिसो तथा कुचो घाँस हो । यसको अङ्ग्रेजी नाम ब्रुम ग्रास, टाइगर ग्रास र वैज्ञानिक नाम थाइसेनोलीमा मेक्जिमा हो ।

ग्रेमिनी–पोएसी वानस्पतिक परिवारमा पर्ने यो बहुवर्षीय घाँस प्रजातिको बिरुवा तीन मिटरसम्म अग्लो हुने गर्छ । यसका पातहरू ३० सेन्टिमिटरसम्म लामो र पाँच सेन्टिमिटर चौडा हुन्छन् । यसका पातहरू बाँसका पातजस्ता आकारका हुन्छन् । मुख्यतः यसको फूलको झुप्पा कुचो बनाउन प्रयोग गरिने भएकाले यसको  महत्व बढेको हो  ।

बिरुवा रोपेको आठ महिनादेखि नै यसले उत्पादन दिन सुरु गर्छ । प्रायः कुचो बनाउनका लागि अम्रिसोको प्रयोग गरिए पनि कागज कारखानामा कच्चापदार्थका रूपमा, गाईवस्तुका लागि डालेघाँस, बायो इन्जिनियरिङका लागि माटो तथा जलसंरक्षण गर्ने क्षेत्रमा पनि प्रयोग हुन्छ ।

अम्रिसोको बिरुवा बर्सात्का बेला रोप्नु उपयुक्त हुन्छ । बिरुवा रोपिसकेपछि यसलाई अरू बालीजस्तो नियमित सिँचाइ वा स्याहारसम्भारको आवश्यकता पर्दैन । एकपटक रोपिसकेपछि आफैँ राम्रोसँग हुर्कन सक्ने अम्रिसो  रोपेको एक महिनापछि एकपटक र त्यसको पहिलो वर्ष थप दुई पटकसम्म गोडमेल गरेमा राम्ररी सप्रन सक्छ । यसलाई राम्रोसँग व्यवस्थापन गर्न सके अम्रिसोबाट छ देखि १० वर्षसम्म निरन्तर उत्पादन लिन सकिन्छ ।
अम्रिसोको बाली सङ्कलन भनेको यसको पूmलको गुच्छा टिप्ने हो । बीउ परिपक्व भएपछि गुच्छा सङ्कलन गर्दा बीउ भुइँमा झरी पुनः उत्पादनमा पनि सघाउ पुग्छ । साधारणतया माघ–फागुनमा गुच्छासहितको डाँठ काटेर सङ्कलन गरिन्छ र घामको प्रकृति हेरी चारदेखि सात दिनसम्म सुकाएर मुठा पारी कुचो बनाई घरायसी तथा व्यापारिक प्रयोजनमा प्रयोग गर्न सकिने वन डिभिजन कार्यालयका वन तथा वातावरण विज्ञ चन्द्रमणि सापकोटा बताउनुहुन्छ  ।  स्रोत : रासस

रिप्लाई गर्नुहोस